Published On:Saturday, May 30, 2015
Posted by Unknown

एउटा फोटोले दिएको नयाँ जिन्दगी…

एउटा फोटोले दिएको नयाँ जिन्दगी...
२०७२ साल बैशाख १२ गते ११ बजेर ५५ मिनेट जाँदा आएको विनाशकारी भुकम्पको कम्पन केहि हद सम्म शान्त भए होला तर त्यसले सारा नेपालीमा पारेको पिडाको कम्पन अब सय बर्ष सम्म पनि शान्त हुने छैन ।
विनाशकारी भुकम्पमा परी अहिले सम्म आठ हजार भन्दा बढिले ज्यान गुमाएका छन भने हजारौं घाइते भएका छन साथै लाखौ घरबार विहीन भएका छन । गोर्खालाई केन्द्र विन्दु बनाएर गएको त्यो प्राकृतिक विपत्तीले विकाशको बाटोमा लम्कीरहेको नेपाललाई ठुलो क्षति पुराएको छ भने हाम्रा संस्कृतिक सम्पदाहरुमा समेत क्षति पुगेको छ ।
मानिसलाई सबै भन्दा धेरै डर लाग्ने भनेको मृत्यु सँग हो । त्यहि मृत्युको मुख बाट बचेर फर्किदा कति खुसि हुन्छ होला मन । बास्तवमै त्यस्तै भएको छ हामीलाई । यो जिवनको अन्तिम घडि हो अब बाच्न असम्भव छ भन्ने स्थीतिबाट आजको अबस्था सम्म आइपुग्दा धरहराको टुप्पोबाट खसेर पनि बाचेकोलाई कस्तो महसुस भएको छ भन्ने कुरा हामीलाई प्रष्टै छ ।
भुकम्पका जाँदाको समय कोहि कता थिए कोहि कता । सबैका आफ्ना आफ्ना कहानी होलान तर म र केहि साथीहरुले भोगेको त्यो दिनको कहाँनी अलि फरक छ । भन्न त बुडा पाका भन्छन काल नआए सम्म जस्तो अबस्थामा भए पनि मरिदैन । हाम्रो त्यो दिनको कहानीले लाग्ला तपाइहरुलाई पनि साच्चै दिन नआए सम्म भगवानले बचाउने रैछन ।
मानिसमा एउटा स्वभाव हुन्छ जब हामी एक्दमै आपतको अबस्थामा हुन्छौ त्यो बेला सबै भन्दा धेरै माया आफ्नो ज्यानको हुन्छ त्यस पछि घर परिवार र आफ्ना नाता पाताहरुको हुन्छ । त्यो समयमा धन सम्पति भन्ने कुरा समान्य जस्तो लाग्छ । जुन कुरा सबैले अहिलेको विनाशकारी भुकम्पको बेला धेरैले महसुस गर्नु भए होला । ज्यान बाँचे अरु जे सुकै होस आँफु बाँचे पछि परिवार के भए होला भन्ने पिर ।
मिति २०७२ साल बैशाख ११ गते शुक्रवार, सँगै अध्ययन गर्ने साथीहरु मध्येका केहि साथीहरु सिन्धुपाल्चोक र नुवाकोटको सिमानामा पर्ने चिसापानी घुम्नजाने योजना बमोजिम १३ जना साथी सात ओटा बाइकमा बेलुकी शुभसाइत गरियो । उकालो कच्ची बाट त्यस माथी परेको सिम सिमे पानीले पिडा दिएको थियो त्यो पिडालाई प्रकृतिक सुन्दरताले केहि भुलाउने प्रयास गरे पनि सकिरहेको थिएन ।
हिलोमा लडदै बेलुकी सात बजे गन्तव्यमा पुगियो । चिसापानी को त्यो ठाँउ देख्दा लाग्थ्यो नेपाल प्रकृतिको कति धनि देश थोरै पहाड उक्ले पछि मुटु कमाउने जाडो अनि फेरी केहि तराई झरे पछि गर्मी  । यहि प्रकृतिक विविधताको फाइदा लिन नसक्दा हामी गरीव भएको हो । गन्तव्यमा पुगे पछि सबै साथीभाइ बेलुकी अवेर सम्म रमाइलो गरि खान पिन गरि सुतियो । सबैको मनमा आशा छ भोलीको दिन अझ रमणीय र स्मरणीय हुने छ ।
विहानीको भुल्के घाम सँगै रमणीय बातावरणमा प्राकृतिक सुन्दरताले अघिल्लो दिन बाटोमा भोग्नु परेको पिडालाई पनि विर्साइदिएको थियो । सल्लाघारीबाट आवाज सहितको चिसो हावाले यो महिना बैशाख हो भन्ने कुरा पनि विर्साइदिन्थ्यो । यति चिसो कि पुस माघ जस्तो मुटु कमाउने । सुन्दर डाँडा बाट देखिने पा्रकृतिक दृश्यले मन प्रफुल्ल मात्र भएन विहानीको सुल्के घामले न्यानो स्वागत गरेको भान हुन्थ्यो  ।
यता उता बरालिदै गर्दा विहानको खाना खाने समय भयो । विहानको खान पछि सबै साथीहरु बेकुकीका हिला कपडा पुछपाछ पारी बाटो लागियो । अघिल्लो दिन जाँदा बाटो एकदम चिफ्लो भएको हुँदा पनि हामी फर्मिदा अर्को बाट जाने निधो भएको थियो । जथाभावी खनिएका सडक गाडी हिडाउनको लागि भन्दा पनि बाटो छ भन्नेको लागि खनिएको जस्तो लाग्थ्यो । विना योजना खनिएका यस्तै नेपालका कति बाटोहरुमा आज पनि अकालमा कतिले ज्यान गुमाइरहेका छन भन्ने कुरा दैनिक रुपमा हुने सवारी दुर्घटनाले पनि प्रस्ट पार्छ ।
हामी बाटो हिडिरहँदा विभिन्न ठाँउको रमणीय स्थलहरुमा फोटो खिच्दै खोलामा बग्ने चिसो पानी खाँदै यात्रा गरिरहेका थियौ । यात्रा एक दम रमणिय भएको थियो ।
यतिबेला सम्म घडिले विहानको ११ बजाइसकेको थियो । भोटेचौरको लक्ष्य लिएर हिडिरहेको हाम्रो टोली १२ बजे सम्म गन्तव्यमा पुगीसक्ने लक्ष्य लिएर यात्रा गरिएको थियो । हिमाल पहाड र तपाईमा बसोवास गर्ने र पत्रकारीता, बैक, शिक्षा ,व्यापार क्षेत्रलाई पेशाका रुपले अँगालेका साथीहरुको हाम्रो समुह यस्तो थियो कि सिँगो नेपालको प्रतिनिधित्व गरे जस्तो । सानो भए पनि हाम्रो गुरुपमा कामको विविधता थियो । उमेर पनि त्यस्तै कोहि अली पाको कोहि अलि कलिलै उमेरको । यो जोडि पाटन बहुमुखि क्याम्पसले बनाएको जोडि पनि हो । जो दुइ बर्ष भन्दा बढि को मित्रता पनि हो ।
बाटोको रमणिय स्थलको अबलोकन गर्दे १३ जना साथीहरु गाँउको कच्ची बाटोमा मोटरसाइकलमा यात्रा गरिरहेका थियौ । त्यतिबेला सम्म घडिमा दिनको ठिक ११ बजेर ५० बजेको थियोे । यात्राको क्रममा सिन्धुपाल्चोककै एउटा अतिनै रमणीय ठाँउ जहाँ बाट टाढा टाढाको पहाडहरु पनि देखिन्थे त्यहि फोटो खिचौ भन्दै सबैभन्दा अगाडि रहेका मित्र लोकेन धमलाले भने पछि सबै साथीहरु एकै ठाँउमा जम्म भए । क्यामेरालाई अटो मोडमा राखि फोटो खिच्न थालियो ।
तर विडम्वना त्यो क्यामेराले फोटो भने खिच्न पाएन । त्यतिनै समयमा विनाशकारी भुकम्प जान सूरु भयो र सबैमा खैला बैला पैदा भयो । एकान्त ठाउ त्यस माथी विरानो गाँउ । एकदम डरलाग्दो पहाड । यति सम्मकी तिर्खा लाग्दा खानको लागि नजिकै पानीको धारा समेत नभएको त्यस्तो ठाँउमा भएको अबस्थामा आएको भुकम्पले सबैलाइ लाग्न थाल्यो अब बाचिन्न होला ।
माथीबाट पहाड खसिरहेको छ तल टेक्ने ठाँउ पनि भासिएको छ । पातलो रुपमा रहेका घरहरुबाट मान्छे पुरीएको खवर त्यस माथी भुकम्पले चारै तिर धुलै धुलै । हामी त्यहाँ हुने साथीहरुलाई थाहा छ र तपाइ पनि अनुमान लगाउन सक्नुहुन्छ त्यो अबस्थामा पिडा र डर कति थियो होला । हामी सबैले बाच्ने आश मारी सकेका थियो । कतिले त मर्नेबेलामा एक पटक घर त फोन गर्नुपर्छ भन्दै मोवाइलमा टावर हेर्दै थिए । त्यसै त ग्रामीण भेग त्यस माथी त्यो अबस्थामा फोन लाग्नु कैरै भएन यो अस्थाले झन पिडा माथी पिडा थपिदियो ।
जव भुकम्प गए त्यो भन्दा पनि पिडा दायी क्षण तब सुरु भयो जब स्थानीय घाइते र स्थानीहरुको रुवाबासी सूरु भयो । सबैले ढलेको घर देखाउदै यहाँ मेरो यो पुरीएको छ भन्दै रुदै थिए । हामी निरिह भएका थियौ उनीहरुको लागि सहयोग गर्नेको लागि हामी सँग बचन पनि निस्कीरहेको थिएन । अझ काठमाण्डौ पुरै ध्वस्त भयो रे भन्ने खवरले त झन हामीलाई त्रास पैदा भयो ।
आँफु बाचिसके पछि परिवार र आफ्नतको चिन्ता हुन्छ सबैले आफ्नतको हालचाल बुझने प्रयास गरे तर धेरैको फोन लागेन । सबैका आँखामा डर अनि पिडा प्रष्टै देख्न सकिन्थ्यो । त्यो स्थलबाट पार गरि हामी केहि समयको अन्तराल पछि फेरी बाटो लागियो बाटोमा गएका ठुला पहिरा देखे पछि हामीलाई झन डर लाग्न थाल्यो यदि हामी त्यो समयमा फोटो खिच्नको लागि त्यहा न बसेको भए यहि मरीने रैछ ।
धन्न लोकेनले बचाए । एउटा फोटोले हामी सबैको ज्यान बचायो । बाटोमा पर्ने ठुला ठुला पहिरो समेत पन्छाउदै हामी बल्ल बल्ल काठमाण्डौ झरियो । बाटोमा देखिएका दुश्य अतिनै भयानक थिए सबै रुदै कराउदै थिए । मलाई त अझ पनि त्यो ठाउमा सरकारी राहात पुगेको छैन होला जस्तो लाग्छ । त्यति विकट अनि त्यो गाँउमा पुरिएकाहरुलाई निकाल्ने पनि कोहि भएनन होला ।
बाटोको यात्राको क्रममा आइरहने पराकम्पनहरुले भत्कीने बाटाहरु र भिर बाट गुल्टीने ठुला ठुला चट्यानहरुले पछाडी आउदै गरेको साथीलाई त लगेन भनी फर्केर हेर्दा उ मुस्कीलले बाचेको त्यो अबस्थामा डर अनि खुसी दुवैलै मनमा कम्पन भइरहेको थियो ।
यसरी हिडीरहदा हाम्रो अगाडि बजारीने ठुला ठुला रुखरुले कतै हामीलाई त च्यापेन भनि अगाडिका साथीहरु हाम्रो प्रतिक्षामा हुन्थे जब हामीलाई सकुशल देख्दथे अनि मन ढुक्क बनाई फेरी आफ्नो बाटो लाग्थ्यौ । आफ्नै अगाडि मन्दीको गजुर कोल्टे परेको देख्दा यता धरहराको शिर ढल्यो रे सयौं मान्छी पुरीए रे भन्ने समाचारले छिया छिया मन पारी बजार छिर्दा किन चाहिदो रैछ व्यवस्थीत बजार अनि किन चाहिदो रैछ बलिया घरहरु भन्ने कुराको आवश्यकता बुझन कतै जानु पर्दैनथ्यो ।
सयौ बर्ष पुराना घरहरुमा च्यापीएका हजारौं नेपालीहरुलाई कालको मुखमा पुराउने काम हामी आफैले गरेको हो भन्ने बुझनको लागि त्यति कठिन थिएन । काठमाण्डौ झरिसके पछि बाचिने आसा पलायो । बाटोमा भत्केका घर अनि घाइते देख्दा बरु उतै मर्न पाएको भए हुन्थ्यो नि यस्तो त देख्न पर्दैनथ्यो भन्ने हामीलाई लाग्यो  । सपना हो कि विपना जस्तो आज पनि भइरहेको छ यतिका दिन पछि पुन ठुला धक्का महसुश भइरहेका छन ।
हजारौले ज्यान गुमाए कति घाइते छन । विनासकारी भुकम्पबाट नयाँ जुन पाएको हामी सबैलाई महसुश भएको छ । नयाँ जुनिको श्रेय साथी लोकेन धमलालाई जान्छ । सगै जाने साथीहरु खगराज पौडेल,दिनेश पौडेल,सन्तोष चापागाई,लोकेन धमला,ज्ञानु प्रसाद न्यौपाने,विशाल के.सी, नवराज निरौला,समिर शर्मा,उत्तम खतिवडा,विकाश पौडेल,मनोज बोहोरा, रघुनाथ भण्डारी लगाएतका साथीहरु आज पनि त्यो दिन सम्झना चाहदैनन् । जिवन दान दिन तथा दुखको बेला पनि धर्यधारण गर्ने शक्ति इश्वरले हामीलाई दिनउ, साथमा मुत्युको मुख बाट बाचेको यो जिन्दगीलाई समाज सेवा र देशको भलाइको लागि जिउन सकौं यहि कामना छ र अब फेरी यस्तो दिन कसैले पनि भोग्न नपरोस यो कामना पनि ।

About the Author

Posted by Unknown on 6:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 6:23 PM. Filed under . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "एउटा फोटोले दिएको नयाँ जिन्दगी…"

Leave a reply

tekman shakya. Powered by Blogger.