पुँजीबजारमा चलखेल बढेपछि…

Posted by Unknown | Saturday, May 30, 2015 | Posted in

पुँजीबजारमा चलखेल बढेपछि…

परिसुचक १ सय बढि अंकले घट्यो
करिब १ महिना स्थगित भएर सुचारु भएको पुँजी बजार निरन्तर ओरालोको गतीमा छ । आईतबारदेखि सुरु भएको कारोबारमा चौथो दिन बुधबारसम्म आईपुग्दा १ सय अंक भन्दा बढिले नेप्से परिसुचक घटेको छ । बुधबार मात्रै बजार परिसुचक २२.१४ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।
बजार घट्दो प्रबृत्तिमा अघि बढेपछि लगानीकर्ताहरु लगानी गर्नबाट सक्रि हुन छाड्ने अनुमान गरिएको छ । केही समूहले भने बजार घट्ने भन्दै नेपाल टेलिकम सहित ठूलो पुँजीकरण भएका कम्पनीको मूल्य घटाएर समग्र बजार प्रभावित गरेका छन् । सोमबार र मंगलबार टेलिकमको सेयरमा खरीदकर्ताको चाप देखिन थालेपछि बुधबार मूलय प्रभावित गर्न त्यसको सेयरमा चलखेल गरिएको लगानीकर्ताहरुले बताएका छन् ।
बुधबार टेलिकम सुचिकृत अन्य समूह ११.७४ अंक र बैंकिङ समूह २८.४१ अंकले घट्दा समग्र बजार ओरालो लागेको हो । बजार घटेपनि कारोबार रकम र कम्पनीको संख्या भने बढेको छ । वुधबार १५ करोड २१ लाख रुपैयाँ बराबरको ६९ कम्पनीका दुई लाख ७७ हजार ५१५ कित्ता सेयर किनबेच भएका छन् । आइतबारदेखि लगातार घटिरहेको चिलिमेको सेयर बुधबार बढेर विक्री भएपनि बजार बन्द हुँदासम्म त्यसको मूलय घटाइएको थियो । यद्यपी चिलिमेको सेयर एक करोड ९४ लाख रुपैयाँ बराबरको खरीद बिक्री भएको छ ।

विपद्को समयमा पनि मोटो रकम असुल्ने दाउमा नीजि शैक्षिक संस्थाहरु !

Posted by Unknown | | Posted in

विपद्को समयमा पनि मोटो रकम असुल्ने दाउमा नीजि शैक्षिक संस्थाहरु !
टेकमान शाक्य 
विनाशकारी भूकम्पले प्रभावित जिल्लाका करिब ९० प्रतिशत विद्यालयहरु बस्न नहुने अवस्थामा छन् । ती विद्यालयहरु पुनर्निर्माणपछि मात्रै आफ्नो कार्य सम्पादन गर्न सक्षम हुन्छन् । भूकम्पका करिण करिब १ महिना विद्यालय संचालन भएन । अध्ययनरत विद्यार्थीहरुको मनोविज्ञानलाई भूकम्पले क्षत विक्षत बनाईरहेको छ । उनीहरुको मनोविज्ञानलाई पहिलेकै ठाउँमा ल्याएर पठन पाठन गराउनुपर्ने ठाउँमा, नीजि क्षेत्रबाट संचालिन विद्यालयहरु भने कमाउने धन्दामै तल्लिन छन् । ती विद्यालयहरु अहिले सेवालाई पछाडी धकेल्दै व्यापारी रुप देखाउनमा तँ भन्दा म के कम भन्दै अघि बढिरहेका छन् ।
विद्यलय संचालन नभएको अवधिको शैक्षिक सुल्क पनि अभिभावकले तिर्नुपर्ने नी विद्यालयहरुले भनिरहेका छन् । शिक्षकलाई तलब दिनुपर्ने र विद्यालय भवनहरु भत्किएको बहाना बनाउँदै विद्यार्थीहरुबाट मोटो रकम असुल्न नीजि क्षेत्रबाट संचालित विद्यालयहरु तँछाड मछाड गर्दै छन् ।
यो अवधिको समयमा अभिभावकले आफ्ना नानीबाबुको शुल्क नतिर्न विभिन्न विद्यार्थी संगठनहरुले भनिरहेका छन् । सेवा नलिएको समयको शुल्क दिन नपर्ने विद्यार्थी संगठनको तर्क छ । तर विद्यालयहरु अरुलाई सस्तो लोकप्रियताको बिल्ला लगाउँदै सेवा नदिएको पनि शुल्क दिनुपर्ने अडानमा छन् ।
भौतिक क्षेत्र नीजि विद्यालयमा मात्रै होइन
यो समयमा नीजि विद्यालयहरुले आफ्नो भौतिक क्षति ठूलो भएको भन्दै सेवा नदिएको समयको पनि शुल्क लिन गोज्नु त्यति न्यायोचित नहोला । नीजि विद्यालयको मात्रै होइन, अन्य सम्पूर्ण विद्यालय, विद्यार्थी, अभिभाव सबैको भौतिक सम्पत्ती सध्ये छैन र बस्न मिल्ने खालको छैन भन्ने उनीहरुको दिमाखमा घुस्नुपर्छ ।
सबै क्षेत्रले आ–आफ्नो क्षेत्रबाट परोपकारी मन बाँडिरहेको समयमा अनेक बहानामा नीजि विद्यालयले शुल्क अशुल गर्नु हुँदैन । भौतिक क्षेति भएको भए त्यसको व्यवस्थापन आफैँले गर्नुपर्छ र आफैँले गर्न नसक्ने हो भने, अन्य कुनै निकायसँग गुहार माग्नुपर्छ । अबोध बालक र उनीहरुको अभिभावकसँग मनपरितन्त्र लादेर शुल्क असुल्नु त्यति जायज नहोला ।
सेवा भन्दा ब्यापारमा जोड
विनाशकारी भूकम्प अघि पनि निजी क्षेत्रका शैक्षिक संस्थाहरु शुल्क बृद्धिको दाउ छोप्दै थिए । उनीहरु विद्यार्थीबाट सेवा सुविधा दिएजस्तो गर्दै पैसा कमाउने धन्दालाई प्राथमिकता दिनमा माहिर छन् । नीजि क्षेत्रका शैक्षिक संस्थाहरुमा त्यस्ता विद्यार्थीहरु छन्, जहाँ सामान्य र सर्वसाधारणले आफ्ना नानीबाबुहरुलाई पठाउन नै सक्दैनन् ।
विहान खाएर बेलुकी के खाउँ भन्नेहरुको पहुँचमा ती शैक्षिक संस्थाहरु पर्दैनन् । विगतदेखि नै कालो धन कमाउने व्यापारी धन्दा गर्ने बानी परेका नीजि विद्यालयले यस्तो विनाशकारी भूकम्पपछिको संकटकालीन अवस्थामा पनि आफ्नो असली रुप लुकाउन सकेनन् । भन्दै छन् की, बिदाको समयको पनि शुल्क अभिभावकले तिर्नुपर्छ, अभिभावकले पैसा नदिए हामीले शिक्षकलाई कसरी तलब दिने ?
दोहोरो मारमा अभिभावक
अभिभावक १ महिनादेखि आफ्ना बालबालिकाहरुलाई विद्यालय पठाउने सामथ्र्य गर्न सकिरहेका छैनन् । अझै पराकम्पन नरोकिएकाले न त विद्यालयमा शिक्षकहरु अध्यापनका लागि जान सक्छन्, न त अभिभावक आफ्ना नानीबाबुलाई विद्यालय पठाउन नै सक्छन् । प्रभावित जिल्लाका अभिभावकहरुको पनि भौतिक संरचनामा ठूलो परिणाममा क्षति पुगेकाले विद्यालयले त्यो अवधिको शुल्क मिनाह गर्नुपर्ने हो । विनाशकारी भूकम्पले निम्त्याएको संक्रमणकालमा अभिभावक र विद्यार्थीलाई राहत दिनुपर्ने ठाउँमा नीजि विद्यालय उल्टो रकम असुल गर्दै छन् ।
अभिभावक बालबालिकामा परेको मनोबैज्ञानिक असरलाई कम गर्न चाहन्छन् । कत्तिपय अभिभावक बालबालिका लिएर घरबारबिहीन अवस्थामा त्रिपालभित्र बसिरहेछन् । आयस्रोत सबै तहस नहस छन् । यस्तो बेलामा आफ्नो परिवारको जीवनयापन कसोरी गर्ने भन्ने चिन्तामा प्रताडिएका अभिभावकहरुलाई नानीबाबुको शुल्क कसरी तिर्ने ? भन्ने चिन्ताले पिरोलिरहेको छ । उनीहरु भन्दै छन् की,–‘पठाई नै नभएको समयको शुल्क हामीले कसरी तिर्ने ?’
विद्यार्थी संगठनहरु के भन्छन् ?
विगतदेखि नै विद्यार्थी संगठनहरु नीवि विद्यालयप्रति रुष्ट बन्दै आईरहेका छन् । गुणस्तरीयतामा भन्दा कमाउने धन्दामा ती विद्यालयहरु अग्रसर भैरहेको संगठनहरुको तर्क छ । विनाशकारी भूकम्प जानुभन्दा पहिलो पनि शुल्क बढाउने गृहकार्यप्रति विद्यार्थी संगठनहरुले चर्को आलोचना र विरोध गरेका थिए  । उनीहरुले नीजि क्षेत्रबाट संचालित विद्यालयहरुले आफ्नो सुविधा र सेवालाई बढवा नदिईकन अभिभावकसँग मोटो रकम लिईरहेको भन्दै चर्को र खरो विरोधमा उभिएका छन् । विद्यार्थी संगठनहरु पठनपाठन हुन नसकेको अवधिको शुल्क अभिभावकले तिर्न नपर्ने र नीजि विद्यालयहरुले पनि त्यो लिन नपाउने भनेका छन् ।
नीजी शैक्षिक संस्थाहरुमा मनपरितन्त्र मौलाएको भन्दै विद्यार्थी संगठनहरुले त्यसको नियन्त्रणका लागि सरकार र संबन्धित निकायसँग बारम्बार भनिरहेका छन् । सरकार पनि यो विषयमा मुख दर्शक बनिरहेको भन्दै संगठनहरु निक्कै रुष्ट छन् । शैक्षिक माफियातन्त्र अन्त्यका लागि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संगठन, नेकपा एमाले निकट अनेरास्ववियू, एकीकृत माओवादी निकट अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठनहरु खरा रुपमा प्रस्तुत भैरहेका छन् ।
नीवि विद्यालयहरुको यो कदमले आलो घाउमा मल्हमपट्टी लगाउनुपर्ने ठाउँमा नुनचुक छर्कने काम भएको अनेरास्ववियूका प्रवक्ता आरसी लामिछानेले खबरवाणीलाई बताएका छन् । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघका प्रवक्ता यूपी लामिछाने पनि यो कदमप्रति विरोध जनाउँदै तत्काल कदम फिर्ता लिनुपर्ने पक्षमा छन् ।
शुल्क मिनाह हुँदैनः नीजि विद्यालय 
अभिभावकले भूकम्पका कारण करिब एक महिना विद्यालय सञ्चालन नभएकाले सो अवधिको शुल्क मिनाहाका लागि आग्रह गरेको भएपनि नीजि शैक्षिक संस्थाहरुले त्यसलाई नमान्ने भएका छन् । बिदाको अवधिमा शिक्षकको तलव र घरभाडा तिर्नुपर्ने भएकाले बिदाको पनि शुल्क लाग्ने नीजि विद्यालयहरुको तर्क छ । निजी विद्यालयमा करिब १० अर्ब रुपैयाँ बराबरको शैक्षिक पूर्वाधार ध्वस्त भएको जानकारी शिक्षा मन्त्रालयलाई गराइएको भएपनि सरकारले सहानुभूति नदेखाइएको प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीको गुनासो छ ।
करिब एक महिना बन्द हुँदा विद्यार्थीको छुटेको २६ दिनबराबरको पाठ्यभारलाई विद्यालयको शैक्षिक क्यालेण्डर मिलाउन हिउँदे, बर्खे बिदा, स्थानीयस्तरका चाडबाड लगायत बिदामा समायोजन गरी अध्ययन अध्यापनको व्यवस्था मिलाउने नीजि विद्यालयको तर्क छ । जस्तो सुकै अप्ठ्यारा आईपरेपनि शुल्क मिनाह भने नहुने विद्यालयहरुले जनाएका छन् । नीजि क्षेत्रका विद्यालयहरुका यो अडानले आम अभिभावक र विद्यार्थीलाई शुल्क नतिरि नहुने बाध्यता खडा भएको छ ।
मनोवैज्ञानिक समस्यालाई के गर्ने ?
प्राकृतिक प्रकोप वा विपद्ले कसैलाई विभेद नगर्ने भएकाले करिब ५ सय निजी विद्यालयमा प्रत्यक्ष क्षति पुगेको छ । सरकारको निर्णय अनुसार यही जेठ १७ गतेबाट विद्यालय सञ्चालनका लागि तयार रहेको नीजि विद्यालयहरुले जनाएका छन् । विद्यालय सञ्चालन भएको एक हप्तासम्म बालबालिकामाथि परेको मनोवैज्ञानिक असरको अध्ययन गरी मनोवैज्ञानिक त्रास न्यूनीकरणका लागि मनोवैज्ञानिक एवम् मनोचिकित्सकको सल्लाहमा भूकम्पको त्रास कम गर्ने खालका कक्षा सञ्चालन गर्ने नीजि शैक्षिक संस्थाहरुको तयारी छ ।
राष्ट्रिय÷अन्तर्राष्ट्रिय सङ्घसंस्था र व्यक्ति तथा नेपाल राष्ट्र बैंकलगायत वित्तिय संस्थाबाट सहुलियत ऋणको व्यवस्था गरी सहयोगका लागि प्याब्सनले आग्रह गरेको छ । बालबालिकाहरुको मनोबैज्ञानिक असर न्युनिकरणका लागि नीजि क्षेत्रले १ हप्तासम्म आफ्नो क्रियाकलाप अघि बढाउने भनेपनि चर्को शुल्क तिर्नुपर्ने अभिभावकको बाध्यताले न्युनिकरणमा समस्या देखिन्छ । घरबारबिहीन बालबालिकाहरु चर्को शुल्क तिरेर विद्यालय जानुपर्ने बाध्यताका बाबजुत मनोबैज्ञानिक असर न्युनिकरणमा चुनौती देखिन्छ । मोटो रकम असुल्न पल्लेका नीजि क्षेत्रले आफ्नै पहलमा बाल मनोपरामर्षदाता ल्याएर बालबालिकाभित्रको त्रास हटाउने सामथ्र्य देखाउन सक्लान् भन्नेमा शंका छ ।
के गर्दै छ सरकार ?
नीजि शैक्षिक संस्थाभन्दा धेरै गुणस्तरीय बन्न सफल भैसकेका छन् सरकारी या भनौँ सामुदायीक विद्यालयहरु । लामो समयदेखि मोटो रकम असुल्न पल्केका नीजि विद्यालयलाई कारबाही गर्ने र गुणस्तरीयतामा ध्यान दिन निर्देशन दिने सम्मका विषयलाई सरकार गौण बनाईरहेको छ । विद्यार्थी संगठनहरुले बारम्बार सरकारको ढोका घच्घच्याईरहेपनि सरकार त्यस विषयमा निर्णय गर्न असफल जस्तै बनिरहेको छ । सरकार एक कानले सुन्दै अर्को कानले उठाउने काममा तल्लिन छ ।
केही समयअघि विदेशी नामबाट चलेका नीजि क्षेत्रका शैक्षिक संस्थाहरुमाथि प्रश्न चिन्ह समेत गर्न नसक्ने सरकारले मनपरितन्त्र नियन्त्रणमा त्यति ठूलो हुत्ति देखाउला भन्नेमा शंका छ । गैर–कानुनी रुपमा संचालन भएका विद्यालयहरुलाई समेत सरकारले कानुनी दायरामा ल्याउन सकिरहेको छैन ।
विनाशकारी भूकम्पले सम्पूर्ण विद्यालयहरु बन्द भएपनि बन्द भएको समयको समेत शुल्क असुल्ने नीजि क्षेत्रका विद्यालयहरुले बताईरहँदा सरकार भने मुकदर्शक बन्दै प्रतिक्रिया बिहीन बनिरहेको छ । सरकार यहि जेष्ठ १७ गतेदेदि देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु खुलाउने तयारी बाहेक अन्य कदमलाई ससक्त बनाउन सकिरहेको छैन ।
अन्य नीजि क्षेत्रबाट सिक्नुपर्छ
आफ्नो उपस्थितिलाई पनि सहयोगी मन सहित प्राथमिकता दिनुपर्ने बिषम परिस्थितिमा पनि नीजि शैक्षिक संस्थाहरु ब्रम्हलुट गर्दै छन् । विभिन्न नीजि क्षेत्रले राहतका नाममा लाखौँ रकम खर्च गरेपनि नीजि क्षेत्र भने सेवा नदिएको शुल्क पनि अशुल्छ खोज्दै छन् ।
केही महिनाको शुल्क मिनाह गरेर भएपनि अभिभावक र बालबालिकामा मल्हमपट्टी लगाईदिने काम गर्नुपर्नुे जिम्मेवारीमा रहेको शैक्षिक संस्था जो नीजि क्षेत्रबाट संचालित छन्, उनीहरुले बुझ्नुपर्छ की, यस्तो कदमले आलो घाउमा नुनचुक छर्कने काम मात्रै हुन्छ । सबैले आफुले सक्ने सहयोगहरु गरिरहेको संक्रमणकालिन अवस्थामा आफ्नो भुमिकालाई पनि नीजि शैक्षिक संस्थाले दरिलो बनाउनुपर्छ । @khabaibani

एउटा फोटोले दिएको नयाँ जिन्दगी…

Posted by Unknown | | Posted in

एउटा फोटोले दिएको नयाँ जिन्दगी...
२०७२ साल बैशाख १२ गते ११ बजेर ५५ मिनेट जाँदा आएको विनाशकारी भुकम्पको कम्पन केहि हद सम्म शान्त भए होला तर त्यसले सारा नेपालीमा पारेको पिडाको कम्पन अब सय बर्ष सम्म पनि शान्त हुने छैन ।
विनाशकारी भुकम्पमा परी अहिले सम्म आठ हजार भन्दा बढिले ज्यान गुमाएका छन भने हजारौं घाइते भएका छन साथै लाखौ घरबार विहीन भएका छन । गोर्खालाई केन्द्र विन्दु बनाएर गएको त्यो प्राकृतिक विपत्तीले विकाशको बाटोमा लम्कीरहेको नेपाललाई ठुलो क्षति पुराएको छ भने हाम्रा संस्कृतिक सम्पदाहरुमा समेत क्षति पुगेको छ ।
मानिसलाई सबै भन्दा धेरै डर लाग्ने भनेको मृत्यु सँग हो । त्यहि मृत्युको मुख बाट बचेर फर्किदा कति खुसि हुन्छ होला मन । बास्तवमै त्यस्तै भएको छ हामीलाई । यो जिवनको अन्तिम घडि हो अब बाच्न असम्भव छ भन्ने स्थीतिबाट आजको अबस्था सम्म आइपुग्दा धरहराको टुप्पोबाट खसेर पनि बाचेकोलाई कस्तो महसुस भएको छ भन्ने कुरा हामीलाई प्रष्टै छ ।
भुकम्पका जाँदाको समय कोहि कता थिए कोहि कता । सबैका आफ्ना आफ्ना कहानी होलान तर म र केहि साथीहरुले भोगेको त्यो दिनको कहाँनी अलि फरक छ । भन्न त बुडा पाका भन्छन काल नआए सम्म जस्तो अबस्थामा भए पनि मरिदैन । हाम्रो त्यो दिनको कहानीले लाग्ला तपाइहरुलाई पनि साच्चै दिन नआए सम्म भगवानले बचाउने रैछन ।
मानिसमा एउटा स्वभाव हुन्छ जब हामी एक्दमै आपतको अबस्थामा हुन्छौ त्यो बेला सबै भन्दा धेरै माया आफ्नो ज्यानको हुन्छ त्यस पछि घर परिवार र आफ्ना नाता पाताहरुको हुन्छ । त्यो समयमा धन सम्पति भन्ने कुरा समान्य जस्तो लाग्छ । जुन कुरा सबैले अहिलेको विनाशकारी भुकम्पको बेला धेरैले महसुस गर्नु भए होला । ज्यान बाँचे अरु जे सुकै होस आँफु बाँचे पछि परिवार के भए होला भन्ने पिर ।
मिति २०७२ साल बैशाख ११ गते शुक्रवार, सँगै अध्ययन गर्ने साथीहरु मध्येका केहि साथीहरु सिन्धुपाल्चोक र नुवाकोटको सिमानामा पर्ने चिसापानी घुम्नजाने योजना बमोजिम १३ जना साथी सात ओटा बाइकमा बेलुकी शुभसाइत गरियो । उकालो कच्ची बाट त्यस माथी परेको सिम सिमे पानीले पिडा दिएको थियो त्यो पिडालाई प्रकृतिक सुन्दरताले केहि भुलाउने प्रयास गरे पनि सकिरहेको थिएन ।
हिलोमा लडदै बेलुकी सात बजे गन्तव्यमा पुगियो । चिसापानी को त्यो ठाँउ देख्दा लाग्थ्यो नेपाल प्रकृतिको कति धनि देश थोरै पहाड उक्ले पछि मुटु कमाउने जाडो अनि फेरी केहि तराई झरे पछि गर्मी  । यहि प्रकृतिक विविधताको फाइदा लिन नसक्दा हामी गरीव भएको हो । गन्तव्यमा पुगे पछि सबै साथीभाइ बेलुकी अवेर सम्म रमाइलो गरि खान पिन गरि सुतियो । सबैको मनमा आशा छ भोलीको दिन अझ रमणीय र स्मरणीय हुने छ ।
विहानीको भुल्के घाम सँगै रमणीय बातावरणमा प्राकृतिक सुन्दरताले अघिल्लो दिन बाटोमा भोग्नु परेको पिडालाई पनि विर्साइदिएको थियो । सल्लाघारीबाट आवाज सहितको चिसो हावाले यो महिना बैशाख हो भन्ने कुरा पनि विर्साइदिन्थ्यो । यति चिसो कि पुस माघ जस्तो मुटु कमाउने । सुन्दर डाँडा बाट देखिने पा्रकृतिक दृश्यले मन प्रफुल्ल मात्र भएन विहानीको सुल्के घामले न्यानो स्वागत गरेको भान हुन्थ्यो  ।
यता उता बरालिदै गर्दा विहानको खाना खाने समय भयो । विहानको खान पछि सबै साथीहरु बेकुकीका हिला कपडा पुछपाछ पारी बाटो लागियो । अघिल्लो दिन जाँदा बाटो एकदम चिफ्लो भएको हुँदा पनि हामी फर्मिदा अर्को बाट जाने निधो भएको थियो । जथाभावी खनिएका सडक गाडी हिडाउनको लागि भन्दा पनि बाटो छ भन्नेको लागि खनिएको जस्तो लाग्थ्यो । विना योजना खनिएका यस्तै नेपालका कति बाटोहरुमा आज पनि अकालमा कतिले ज्यान गुमाइरहेका छन भन्ने कुरा दैनिक रुपमा हुने सवारी दुर्घटनाले पनि प्रस्ट पार्छ ।
हामी बाटो हिडिरहँदा विभिन्न ठाँउको रमणीय स्थलहरुमा फोटो खिच्दै खोलामा बग्ने चिसो पानी खाँदै यात्रा गरिरहेका थियौ । यात्रा एक दम रमणिय भएको थियो ।
यतिबेला सम्म घडिले विहानको ११ बजाइसकेको थियो । भोटेचौरको लक्ष्य लिएर हिडिरहेको हाम्रो टोली १२ बजे सम्म गन्तव्यमा पुगीसक्ने लक्ष्य लिएर यात्रा गरिएको थियो । हिमाल पहाड र तपाईमा बसोवास गर्ने र पत्रकारीता, बैक, शिक्षा ,व्यापार क्षेत्रलाई पेशाका रुपले अँगालेका साथीहरुको हाम्रो समुह यस्तो थियो कि सिँगो नेपालको प्रतिनिधित्व गरे जस्तो । सानो भए पनि हाम्रो गुरुपमा कामको विविधता थियो । उमेर पनि त्यस्तै कोहि अली पाको कोहि अलि कलिलै उमेरको । यो जोडि पाटन बहुमुखि क्याम्पसले बनाएको जोडि पनि हो । जो दुइ बर्ष भन्दा बढि को मित्रता पनि हो ।
बाटोको रमणिय स्थलको अबलोकन गर्दे १३ जना साथीहरु गाँउको कच्ची बाटोमा मोटरसाइकलमा यात्रा गरिरहेका थियौ । त्यतिबेला सम्म घडिमा दिनको ठिक ११ बजेर ५० बजेको थियोे । यात्राको क्रममा सिन्धुपाल्चोककै एउटा अतिनै रमणीय ठाँउ जहाँ बाट टाढा टाढाको पहाडहरु पनि देखिन्थे त्यहि फोटो खिचौ भन्दै सबैभन्दा अगाडि रहेका मित्र लोकेन धमलाले भने पछि सबै साथीहरु एकै ठाँउमा जम्म भए । क्यामेरालाई अटो मोडमा राखि फोटो खिच्न थालियो ।
तर विडम्वना त्यो क्यामेराले फोटो भने खिच्न पाएन । त्यतिनै समयमा विनाशकारी भुकम्प जान सूरु भयो र सबैमा खैला बैला पैदा भयो । एकान्त ठाउ त्यस माथी विरानो गाँउ । एकदम डरलाग्दो पहाड । यति सम्मकी तिर्खा लाग्दा खानको लागि नजिकै पानीको धारा समेत नभएको त्यस्तो ठाँउमा भएको अबस्थामा आएको भुकम्पले सबैलाइ लाग्न थाल्यो अब बाचिन्न होला ।
माथीबाट पहाड खसिरहेको छ तल टेक्ने ठाँउ पनि भासिएको छ । पातलो रुपमा रहेका घरहरुबाट मान्छे पुरीएको खवर त्यस माथी भुकम्पले चारै तिर धुलै धुलै । हामी त्यहाँ हुने साथीहरुलाई थाहा छ र तपाइ पनि अनुमान लगाउन सक्नुहुन्छ त्यो अबस्थामा पिडा र डर कति थियो होला । हामी सबैले बाच्ने आश मारी सकेका थियो । कतिले त मर्नेबेलामा एक पटक घर त फोन गर्नुपर्छ भन्दै मोवाइलमा टावर हेर्दै थिए । त्यसै त ग्रामीण भेग त्यस माथी त्यो अबस्थामा फोन लाग्नु कैरै भएन यो अस्थाले झन पिडा माथी पिडा थपिदियो ।
जव भुकम्प गए त्यो भन्दा पनि पिडा दायी क्षण तब सुरु भयो जब स्थानीय घाइते र स्थानीहरुको रुवाबासी सूरु भयो । सबैले ढलेको घर देखाउदै यहाँ मेरो यो पुरीएको छ भन्दै रुदै थिए । हामी निरिह भएका थियौ उनीहरुको लागि सहयोग गर्नेको लागि हामी सँग बचन पनि निस्कीरहेको थिएन । अझ काठमाण्डौ पुरै ध्वस्त भयो रे भन्ने खवरले त झन हामीलाई त्रास पैदा भयो ।
आँफु बाचिसके पछि परिवार र आफ्नतको चिन्ता हुन्छ सबैले आफ्नतको हालचाल बुझने प्रयास गरे तर धेरैको फोन लागेन । सबैका आँखामा डर अनि पिडा प्रष्टै देख्न सकिन्थ्यो । त्यो स्थलबाट पार गरि हामी केहि समयको अन्तराल पछि फेरी बाटो लागियो बाटोमा गएका ठुला पहिरा देखे पछि हामीलाई झन डर लाग्न थाल्यो यदि हामी त्यो समयमा फोटो खिच्नको लागि त्यहा न बसेको भए यहि मरीने रैछ ।
धन्न लोकेनले बचाए । एउटा फोटोले हामी सबैको ज्यान बचायो । बाटोमा पर्ने ठुला ठुला पहिरो समेत पन्छाउदै हामी बल्ल बल्ल काठमाण्डौ झरियो । बाटोमा देखिएका दुश्य अतिनै भयानक थिए सबै रुदै कराउदै थिए । मलाई त अझ पनि त्यो ठाउमा सरकारी राहात पुगेको छैन होला जस्तो लाग्छ । त्यति विकट अनि त्यो गाँउमा पुरिएकाहरुलाई निकाल्ने पनि कोहि भएनन होला ।
बाटोको यात्राको क्रममा आइरहने पराकम्पनहरुले भत्कीने बाटाहरु र भिर बाट गुल्टीने ठुला ठुला चट्यानहरुले पछाडी आउदै गरेको साथीलाई त लगेन भनी फर्केर हेर्दा उ मुस्कीलले बाचेको त्यो अबस्थामा डर अनि खुसी दुवैलै मनमा कम्पन भइरहेको थियो ।
यसरी हिडीरहदा हाम्रो अगाडि बजारीने ठुला ठुला रुखरुले कतै हामीलाई त च्यापेन भनि अगाडिका साथीहरु हाम्रो प्रतिक्षामा हुन्थे जब हामीलाई सकुशल देख्दथे अनि मन ढुक्क बनाई फेरी आफ्नो बाटो लाग्थ्यौ । आफ्नै अगाडि मन्दीको गजुर कोल्टे परेको देख्दा यता धरहराको शिर ढल्यो रे सयौं मान्छी पुरीए रे भन्ने समाचारले छिया छिया मन पारी बजार छिर्दा किन चाहिदो रैछ व्यवस्थीत बजार अनि किन चाहिदो रैछ बलिया घरहरु भन्ने कुराको आवश्यकता बुझन कतै जानु पर्दैनथ्यो ।
सयौ बर्ष पुराना घरहरुमा च्यापीएका हजारौं नेपालीहरुलाई कालको मुखमा पुराउने काम हामी आफैले गरेको हो भन्ने बुझनको लागि त्यति कठिन थिएन । काठमाण्डौ झरिसके पछि बाचिने आसा पलायो । बाटोमा भत्केका घर अनि घाइते देख्दा बरु उतै मर्न पाएको भए हुन्थ्यो नि यस्तो त देख्न पर्दैनथ्यो भन्ने हामीलाई लाग्यो  । सपना हो कि विपना जस्तो आज पनि भइरहेको छ यतिका दिन पछि पुन ठुला धक्का महसुश भइरहेका छन ।
हजारौले ज्यान गुमाए कति घाइते छन । विनासकारी भुकम्पबाट नयाँ जुन पाएको हामी सबैलाई महसुश भएको छ । नयाँ जुनिको श्रेय साथी लोकेन धमलालाई जान्छ । सगै जाने साथीहरु खगराज पौडेल,दिनेश पौडेल,सन्तोष चापागाई,लोकेन धमला,ज्ञानु प्रसाद न्यौपाने,विशाल के.सी, नवराज निरौला,समिर शर्मा,उत्तम खतिवडा,विकाश पौडेल,मनोज बोहोरा, रघुनाथ भण्डारी लगाएतका साथीहरु आज पनि त्यो दिन सम्झना चाहदैनन् । जिवन दान दिन तथा दुखको बेला पनि धर्यधारण गर्ने शक्ति इश्वरले हामीलाई दिनउ, साथमा मुत्युको मुख बाट बाचेको यो जिन्दगीलाई समाज सेवा र देशको भलाइको लागि जिउन सकौं यहि कामना छ र अब फेरी यस्तो दिन कसैले पनि भोग्न नपरोस यो कामना पनि ।

लेभान्टेको पोष्टमा बार्सिलोनाको पाँच गोल

Posted by Tekman Shakya | Monday, September 22, 2014 | Posted in , ,


Rakitic celebrates with Messi

६ असोज, काठमाडौं । मेस्सीको प्रेरणामा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा अपराजित यात्रा कायमै राखेको छ ।बार्सिलोनाले आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित लेभान्टेलाई ५–० गोल अन्तरले पराजित गरेको हो । खेलमा बार्सिलोनाले ३४ औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । उनले मेस्सीको पासमा गोल गरेका हुन् । खेलको ४१ औं मिनेटमा मेस्सीलाई फल गरेपछि लुकासले फल गरेपछि रातो कार्ड पाए भने बार्सिलोनाले पेनाल्टी पायो । तर, मेस्सी गोल गर्न असफल रहे ।पेनाल्टीमा गोल गर्न चुकेपछि टाउकोमा हात राख्दै मेस्सी
खेलको ४४ औं मिनेटमा राकिटेकले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २–० को अग्रता दिलाए ।
दोस्रो हाफको ५७ औं मिनेटमा रामिरेजले मेस्सीको पासमा गोल गरे भने ६४ औं मिनेटमा पेड्रोले गोल गरेपछि बार्सिलोना४–० को अग्रता लिन सफल भयो ।खेलको ७७ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ५–० को जित दिलाए ।

एसियाडमा नेपाली महिला क्रिकेट टोली क्वाटरफाइनलमा

Posted by Tekman Shakya | | Posted in ,


CANइन्चोन, ६ असोज । दक्षिण कोरियाको इन्चोनमा जारी १७औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा जीत दर्ता गर्दै नेपाली महिला क्रिकेट टीम क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ ।

सोमबार बिहान भएको खेलमा नेपालले चीरपरिचित प्रतिद्वन्द्वी मलेसियालाई ४६ रनले पराजित गरेसँगै समूह डी को उपविजेताको रुपमा अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
क्वाटरफाइनलमा नेपालले बुधबार बंगलादेशको सामना गर्नेछ ।
नेपालले प्रस्तुत गरेको ८९ रनको लक्ष्य पछ्याएको मलेसिया १४ ओभर ५ बलमा ४२ रन जोड्दा अलआउट भयो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा करुणा भण्डारीले ४ तथा सरिता मगर, रुविना क्षेत्री र सोनु खड्काले १-१ विकेट लिए । मलेसियाका लागि विकेट किपर ब्याट्सम्यान क्रिस्टिना ब्रेटले ११ रन जोड्नु बाहेक अन्य कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ८८ रन जोडेको थियो । नेपालको पारीमा ममता चौधरीले सर्वाधिक २२, सीता राना मगरले १८, सरिता मगरले १२, सोभा आलेले ६ तथा नेरी थापाले ४ रन जेडेका थिए । यसअघि पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको थियो ।

चेल्सीविरुद्ध लाम्पार्डको गोल

Posted by Tekman Shakya | | Posted in , ,

Lampard refuses to celebrate६ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिका दावेदार चेल्सी र म्यानचेष्टर सिटीले बराबरी खेलेका छन् । आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा फ्राङ्क लाम्पार्डले पूर्व क्लब चेल्सीविरुद्ध गोल गरेपछि सिटीले १–१ को बराबरी खेलेको हो ।

सिटीको घरेलु मैदान इत्तेहाद स्टेडिममा भएको खेलको पहिलो हाफमा दुबै टोलीबाट गोल हुन सकेन । ६६ औं मिनेटमा जाबालेटा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए ।
७१ औं मिनेटमा आन्द्रे सुर्लेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
तर, ८५ औं मिनेटमा लाम्पार्डले पूर्व क्लब चेल्सीविरुद्ध गोल गरे । १३ वर्ष चेल्सीमा विताएका उनले गोलको खुसी भने मनाएनन् । यसै सिजन न्यूयोर्क सिटी गएका उनी लोनमा म्यानचेष्टर सिटी आएका थिए ।

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्रको हवाई अवलोकन

Posted by Tekman Shakya | | Posted in ,

rambaran yadavधनगढी, ६ असोज । राष्ट्रपति डा. रामवरण यादवले गएको साउनको अन्तिम साता कैलालीको पूर्वी क्षेत्रमा आएको बाढी र डुबानबाट प्रभावित क्षेत्रको सोमबार हवाई अवलोकन गरेका छन् ।

साउनको अन्तिम साता कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा आएको विनासकारी बाढीले कैलालीको पूर्वी क्षेत्रका धनसिंपुर, नारायणपुर, पथरैया, लालबोझी, दुर्गौली, जानकीनगर, बलिया गाविस र टीकापुर नगर क्षेत्रमा क्षति पु¥याएको थियो ।

हवाई अवलोकनपछि टीकापुरस्थित टीकापुर बहुमुखी क्याम्पसमा उपस्थित भएका बाढीपीडित, सुकुम्बासी र मुक्तकमैयाहरुसँग राष्ट्रपति यादवले भेटघाट गरे ।

सो अवसरमा कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले बाढी र डुबानबाट पुगेको क्षति र प्रभावित परिवारलाई वितरण गरिएको नगद, खाद्यान्न र गैरखाद्य सामग्रीबारे जानकारी गराएका थिए ।

प्रजिअ लेखकले जिल्लाका अन्य समस्याहरुबारे समेत जानकारी दिए । साउन अन्तिम साताको बाढी र डुबानको समस्याले कैलालीमा चारजनाको मृत्यु र आठजना घाइते भएका थिए । यस्तै, एक हजार १४५ घर पूर्ण क्षति भएको र झन्डै दुई हजार २०० घरमा आंशिक क्षति पुगेको थियो ।

राष्ट्रपति डा. यादवसमक्ष बाढीपीडित, सुकुम्बासी, मुक्तकमैया, टीकापुर अस्पताल, उद्योग वाणिज्य सङ्घले आ–आफ्ना समस्या समाधानका लागि ज्ञापनपत्रसमेत दिएका थिए ।

टीकापुर बहुमुखी क्याम्पसको स्वामित्वमा रहेको ३८० बिघा क्षेत्रफलको जग्गामध्ये झन्डै ३०० बिघा जग्गा अतिक्रमणमा परेकाले समस्या समाधानका लागि पहल गरिदिन क्याम्पस प्रमुखले राष्ट्रपतिसमक्ष आग्रह गरेका दिए ।

क्याम्पसको जग्गा सुकुम्बासी, बाढीपीडित र मुक्तकमैयाले अतिक्रमण गरी बसेको जनाइएको छ ।

राष्ट्रपतिका साथमा सिँचाइ मन्त्री एनपी साउदसमेत थिए ।


tekman shakya. Powered by Blogger.